आजको सर्किट ब्रेकको श्रृंखलाले दिन खोजेको सन्देश के हो ?

आजको सर्किट ब्रेकको श्रृंखलाले दिन खोजेको सन्देश के हो ?

सक्रिट ब्रेकर भनेको के हो ?


स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न कारोबार हुँदा सोही दिनको मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यस्ता उतारचढावलाई नियन्त्रण गर्न बनाइएको विधिलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ । बजारको स्थायित्व एवंम सुरक्षाका लागि स्टक एक्सचेन्जहरुले यस्तो व्यवस्था गरेका हुन्छन् ।

सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरी भन्छन, ‘पूँजीबजार पछिल्लो समय दैनिकजसो घटिरहेको छ । बजार घट्दो क्रममा रहेकोले ‘सर्किट ब्रेकर’ ले धेरै महत्व राख्दछ । कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ बाट नेपालमा पनि सुरु गरेको थियो । तर समग्र नेप्से परिसुचकको हकमा एक दिनमा अधिक्तम ६ प्रतिशतले बजार घटबट हुन सक्नेछ । यदी ६ प्रतिशतले घटबड भएमा त्यस दिनका लागि बजार स्थगन गरिनेछ ।

कसरी लगाइन्छ सर्किट ब्रेकर ?

समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक४ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन हुन्छ । पुनः कारोबार खुलेपछि परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा दोस्रो पटक सर्किट ब्रेक लाग्छ र कारोबार स्थगित गरिन्छ । दोस्रो सर्किट ब्रेक लगाएपछि ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजार परिसूचक ६ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुन्छ ।

आज भएको के हो ?

आइतबार शेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेपछि कारोबार बन्द भएको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः२५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

आज जलविद्युत् समूह सबैभन्दा धेरै ८.६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६.७, बैंकिङ ५.६, विकास बैंक ६.५, फाइनान्स ६.५, लगानी ६.४, जीवन बीमा ५.३, माइक्रोफाइनान्स ५.६, उत्पादन ४.८, निर्जीवन बीमा ५.२, अन्य ४.५ र ब्यापार उपसमूह ५.८ प्रतिशतले बढेका छन् । पुनः १२ः०७ बजे सुरु भएको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरी भन्छन, ‘एकैदिन कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन । मानौं, ‘ए’ भन्ने कम्पनीको शेयर मूल्य १ सय रुपैयाँ छ । यो कम्पनीको शेयर मूल्य ११० रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ । घट्दा पनि सोही किसिमले १० प्रतिशतबाट घटेर ९० मा झर्न सक्छ । तर एकैदिन एक सयबाट घटेर ८९ रुपैयाँमा झर्दैन । कम्पनीको मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिदैन ।

के अब लगानीकर्ताको मनोबल बढेको हो ?

विज्ञहरुले लगानीकर्ताहरुको मनोबल बढेको र अब बजारले गति लिन खोजेको बताए । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । सन सेक्युरेटिज लिमिटेडका अध्यक्ष गिरीका अनुसार लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ । उनले लगानीकर्ताहरुलाई समय अनुसार संयमता अपनाएर लगानी गर्न सुझाव समेत दिए ।

यस्तो बेलामा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु के–के हुन ?

अध्यक्ष गिरीका अनुसार यस्तो बेलामा जुन कम्पनीको शेयर मुल्य वृद्धि भएको छ सोही कम्पनीको शेयरमा लगानी गर्नुभन्दा कम्पनीहरुको वित्तीय विवरण अध्ययन गरेर बलियो वित्तीय सुचक भएका कम्पनीहरुमा लगानी गर्नु सबैभन्दा भरपर्दो रणनीति हुनसक्छ । उनी भन्छन, ‘वित्तीय विवरणमा कम्तिमा कम्पनीको विगत तीन वर्षयताको प्रगति विवरण हेर्न सकिन्छ ।

पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राखेमा लाभादायक हुनसक्छ । यसले बजारको बारेमा दैनिक जानकारी हुन्छ भने लगानीको निर्णय गर्न पनि सहयोग पुर्याउन सक्छ । शेयर बजारमा कहिले र कुन समयमा शेयर किन्ने भनेर अनुमान लगाउनु धेरै गाह्रो कुरा हो, यद्यपी केही कुराहरुमा आफूले अध्ययन विश्लेषण गरेर लगानी गर्ने हो भने केही समय बजार घटेर घाटा लागेपनि दीर्घकालीन रुपमा नाफा कमाउन सकिन्छ ।’

उनका अनुसार अबको दुई देखि तिनवटा करोबारका दिनहरुलाई सुक्ष्म रुपमा हेरेर आफ्नो लगानी रणनीति तय गर्नु वुद्धिमानी हुनेछ ।