बैंकिङ्ग कसुरमा पुर्जी जारी भएको २ महिनासम्म पक्राउ परेनन् कांग्रेस नवलपरासीका सचिव

बैंकिङ्ग कसुरमा पुर्जी जारी भएको २ महिनासम्म पक्राउ परेनन् कांग्रेस नवलपरासीका सचिव

प्रहरीकाे भूमिकामाथि आशंका


बुटवल- सहकारीलाई तिर्नुपर्ने रकमको चेक अनादर गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेका कांग्रेस नवलपरासीका सचिव कुलदीप आचार्यलाई प्रहरीले तीन महिनासम्म नियन्त्रणमा लिन सकेको छैन।

पश्चिम नवलपरासीको बर्दघाटस्थित सिद्धबाबा बहुउद्देशीय सहकारी संस्था लिमिटेडबाट लिएको करिव ७५ लाख रुपैयाँ नतिरेको आरोपमा सहकारीले आचार्यविरुद्ध ठगी एवं बैकिङ्ग·कसुर सम्वन्धी मुद्दा दर्ता गरेकाे थियाे। उक्त सहकारीका पूर्वसचिव समेत रहेका आचार्यले बाउन्स चेक दिएपछि उनीविरुद्ध चेक अनादरको मुद्दा परेको थियो।

जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपनि नवलपरासी प्रहरीले उनलाई पक्राउ नगरेको सहकारीका सञ्चालकको गुनासो छ। सहकारीका अध्यक्ष जीतबहादुर श्रेष्ठले जिल्लाका सार्वजनिक कार्यक्रममा देखिंदै आएका आचार्यलाई प्रहरीले पक्राउ नगरेको बताए।

पक्राउ पुर्जी जारी भएको लामो समय बित्दा पनि पक्राउ नपर्दा सहकारीका सञ्चालक र सेयर सदस्यले प्रहरीको भूमिकामाथि आशंका देखिएकाे अध्यक्ष श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालय नवलपरासीले गत असोज २१ गते नै आचार्यविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे थियाे।

जग्गा कारोबार र ईट्टा उद्योगका सञ्चालकसमेत रहेका आचार्यले राजनीतिक शक्तिको आडमा प्रहरीलाई प्रभावमा पारेर पक्राउ हुनबाट जोगिएको आरोप लाग्दै आएको छ। कुलदीप कांग्रेसभित्र नेता शेखर कोइराला निकट नेता हुन्।

यता जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आचार्यको खोजीमा प्रहरी रहेकाे तर फेला पार्न नसकेको बताए।

आचार्यकाे नाम यसअघि पनि लेनदेन मुद्दामा मुछिएकाे थियाे। त्यतिबेला झापा प्रहरीले पक्राउ गरेकाेमा पछि उनी धरौटीमा रिहा भएका हुन् ।