राष्ट्र बैंकका गभर्नरले एक वर्षमा बुझे ६१ लाख तलब-भत्ता, अरुले कति ?

राष्ट्र बैंकका गभर्नरले एक वर्षमा बुझे ६१ लाख तलब-भत्ता, अरुले कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा करिब ६१ लाख तलब र भत्ता बुझेका छन्।

उनले गत आर्थिक वर्ष २०७९÷८०मा ६० लाख ९१ हजार ३३५ रुपैयाँ तलब भत्ता बुझेका हुन्। उनले १६ लाख ३२ हजार रुपैयाँ तलब, ४ लाख १४ हजार बैठक भत्ता र ४० लाख ४५ हजार ३३५ रुपैयाँ अन्य सुविधाको रुपमा बुझेका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदअनुसार उनको वार्षिक आम्दानी २४.१७ प्रतिशतले बढेको देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा उनले ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए।

यसैगरी डेपुटी गभर्नरहरू डा‍ निलम ढुङ्गानाले ५७ लाख २ हजार ३६१ रुपैयाँ र बमबहादुर मिश्रले ५३ लाख २९९ रुपैयाँ बुझेका छन्।

गभर्नर, डेपुटी गभर्नर र अन्य सञ्चालकसहित राष्ट्र बैंकका सञ्चालकले एक वर्षको अवधिमा २ करोडभन्दा बढी तलब भत्ता बुझेका छन्।

यसैगरी राष्ट्र बैंककाे सञ्चालक समितिमा रहेर काम गरेका अर्थसचिवहरू अर्जुनप्रसाद पोखेरलले १ लाख २८ हजार, तोयम रायले १ लाख ६९ हजार बुझेका छन्, मधुकुमार मरासिनीले १८ हजार र कृष्णहरि पुस्करले २ लाख ५५ हजार बुझेका छन्।

यस्तै बोर्ड मेम्बरहरू रबिन्द्रप्रसाद पाण्डेले ३ लाख ४४ हजार, चिन्तामणि शिवाकोटीले १५ लाख ६४ हजार रुपैयाँ र शंकरप्रसाद आचार्यले १० लाख ८ हजार रुपैयाँ लिएका छन्।