१ प्रतिशतभन्दा कम ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राख्न बैंकहरू तयार

१ प्रतिशतभन्दा कम ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राख्न बैंकहरू तयार


काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बै्रकमा १ प्रतिशतभन्दा कम ब्याजदरमा निक्षेप राख्न तयार भएका छन्। अधिक तरलता भएपछि बैंकहरूले १ प्रतिशतभन्दा कम ब्याज राखेर बोलकबोल पेस गरेका हुन्।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंक गत मंसिर १४ गते १० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको थियो। जसमा निक्षेप राख्नका लागि ९ वटा बैंकले बोलकबोल पेस गरेका थिए। बोलकबोल पेस गर्दा बैंकहरूले ०.८७१ देखि अधिकतम १.०४ प्रतिशतसम्म ब्याजदर पेस गरेकोमा ब्याजदर ०.९८ प्रतिशत कायम भएको छ।

यतिबेला बैंकहरूमा करिब ५ खर्ब रूपैयाँ लगानीयोग्य रकम थन्किएको छ। उद्योगी व्यवसायीहरूले कर्जा नलिएपछि बैंकमा अधिक तरलता भएको हो।

अहिले बैंकहरूले लगानी गर्न नसक्दा कयौँ उद्योग सञ्चालन हुन सकेका छैनन् भने घरजग्गा तथा रियलस्टेट क्षेत्रसमेत धरासयी बनेका छन्।

जसकारण बैंकहरूमा अधिक तरलता बढ्दै गएको छ।