९ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि राहुललाई बोलाए

९ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि राहुललाई बोलाए


बैंकिङ्ग समाचार, काठमाडौं ।

सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्ण बहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । उनलाई बयानका लागि मंगलबार उपस्थित गराईदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरुको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड),  भन्सार कर्मचारीहरुको बयान लगायतलाई आधार मान्दै राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने भन्दै अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।

स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा अपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो । त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन ।

दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका छोरा राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो । यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन ।

सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले ६० किलो सुन प्रकरण,  भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिका एक सदस्यले बताए ।

उच्चस्तरीय समिति स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद ६० किलो सुन प्रकरणमा नेपाली आरोपीहरुको बयान समेत यसअघि भइसकेको छ भने चिनियाँ नागरिकको बयान बाँकी छ ।