बैंकिङ्ग समाचार, काठमाडौँ ।
प्रभु बैंकले ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि पाएको छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान गरेको हो ।सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङ्गमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।
‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ्ग उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ्ग उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको प्रभु बैंकले जनाएको छ ।
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंक मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।
बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।
अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । ‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ्ग क्षेत्रमै हैसला प्रदान गरेको छ, हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ,’ उनले भने ।
सीईओ शेरचनले बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकहरूको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए । ‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ्ग क्षेत्रकै सफलताको ठानेको छु, आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ,’ उनले भने ।
२००६ सालमा प्रभु फाइनान्सबाट सेवा सुरु गरेको बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटीएममार्फत् देशव्यापी ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ ।
हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ ।





About Us
प्रतिक्रिया