आम्दानीसँगै घट्यो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी कति?

आम्दानीसँगै घट्यो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी कति?


बैंकिङ्ग समाचार । 
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको आम्दानीसँगै खुद नाफा पनि घटेको देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात ४७.२९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण नाफामा गिरावट आएको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६२ लाख ६२ हजार रुपैयाँ मात्र रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४७ करोड २७ लाख रुपैयाँ घटेर ५१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ७२ करोड र रिटेन्ड अर्निङ्गमा २ अर्ब ४९ करोड रुपैयाँ थियो।

बैंकको निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब १ अर्बबाट घटेर ९९ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३२ रुपैयाँ ५९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १५ रुपैयाँ ६२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.९२ गुणा रहेको छ।

त्यसैगरी, बैंकको आधार दर ८.९३ प्रतिशतबाट घटेर ७.१६ प्रतिशत र स्प्रेड दर ५.३६ प्रतिशतबाट ४.७८ प्रतिशतमा झरेको छ।