निम्स दाइसहित चार नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो


काठमाडौं- पाकिस्तानस्थित विश्वको १२औं अग्लो हिमाल ब्रड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित चार आरोहीको शव उद्धार गरी आधार शिविर (बेस क्याम्प) मा ल्याइएको छ।

निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट शव उद्धार सम्पन्न भएको पुष्टि गरेका छन्। उनका अनुसार निर्मल पुर्जासँगै झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच जोखिमपूर्ण उद्धार अभियान सञ्चालन गरी आधार शिविरमा ल्याइएको हो।

निम्स दाइको कम्पनी एलिट एक्स्पेडका अनुसार उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए। अभियानमा सिरबाज खानसहित स्थलमा खटिएको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र समर्पणका साथ काम गरेको कम्पनीले जनाएको छ।

कम्पनीले पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा उद्धार अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

एलिट एक्स्पेडले जारी गरेको वक्तव्यमा निम्सको शव स्वदेश फर्काउने कार्यलाई केवल एक पर्वतारोहीको उद्धार नभई एक पति, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइ परिवारको केन्द्रबिन्दुलाई घर फर्काउने प्रयासका रूपमा वर्णन गरेको छ।

कम्पनीका अनुसार निम्स, झोङ, निमा र किलुको शव आधार शिविरमा ल्याइएसँगै उनीहरूलाई परिवारसम्म अन्तिम यात्रामा पठाउने प्रक्रिया अघि बढेको छ। साथै, अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था बनेपछि खोज तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता पनि जनाइएको छ।

गत बिहीबार ब्रड पिक क्षेत्रमा आएको शक्तिशाली हिमपहिरोमा परी १० पर्वतारोही बेपत्ता भएका थिए। तीमध्ये सबैको मृत्यु भएको पुष्टि भइसकेको छ। उक्त घटना हालैका वर्षहरूमा पाकिस्तानको हिमाली क्षेत्रमा भएको सबैभन्दा दुःखद पर्वतारोहण दुर्घटनामध्ये एक मानिएको छ।