काठमाडौं – नेपालमै विकास गरिएको बहुउद्देश्यीय डिजिटल प्लेटफर्म ‘फिरिरी सुपर एप’ औपचारिक रूपमा सार्वजनिक भएको छ। कम्पनीले दैनिक जीवनसँग सम्बन्धित विभिन्न सेवाहरूलाई एउटै मोबाइल एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित सुपर एप सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार फिरिरीलाई ‘अल–इन–वन’ डिजिटल इकोसिस्टमका रूपमा विकास गरिएको हो। एउटै एपमार्फत राइड सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा ट्राभल बुकिङ, डिजिटल भुक्तानी, रियल स्टेट, ह्यान्डिम्यान तथा घरायसी सेवा, रोजगारी तथा करियर, ओटिटी र डिजिटल शिक्षासम्बन्धी सेवा उपलब्ध हुने जनाइएको छ।
कम्पनीले विभिन्न सेवा छुट्टाछुट्टै एप प्रयोग गर्नुपर्ने झन्झट हटाएर एउटै प्लेटफर्मबाट एकीकृत डिजिटल अनुभव दिने उद्देश्य राखेको जनाएको छ।फिरिरीले स्थानीय व्यवसायी, घरजग्गा व्यवसायी, सेवा प्रदायक, फ्रीलान्सर, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई एउटै डिजिटल नेटवर्कमा जोड्ने लक्ष्य पनि लिएको छ। कम्पनीका अनुसार यसले स्थानीय व्यवसायको डिजिटल पहुँच विस्तार गर्नुका साथै नयाँ रोजगारी र व्यवसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले फिरिरीलाई नेपालीद्वारा विकसित स्वदेशी डिजिटल प्लेटफर्मका रूपमा प्रस्तुत गर्दै मोबिलिटी, व्यापार, सेवा, मनोरञ्जन र शिक्षालाई एउटै इकोसिस्टममा जोड्ने लक्ष्य रहेको जनाएको छ।
हाल विदेशी डिजिटल प्लेटफर्महरूको प्रयोग बढिरहेका बेला स्वदेशी सुपर एपका रूपमा फिरिरीले देशभित्रै डिजिटल सेवा विस्तार, मूल्य सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन योगदान दिने दाबी कम्पनीको छ। प्रविधि क्षेत्रका जानकारहरूका अनुसार यदि एउटै एपमार्फत बहुविध सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने यसले नेपालको डिजिटल रूपान्तरणलाई गति दिनुका साथै प्रयोगकर्ताको समय र लागत दुवै बचाउन सक्छ। कम्पनीका अनुसार फिरिरी एप अहिले नै प्रयोगका लागि उपलब्ध छ भने प्रारम्भिक चरणमा देशका प्रमुख सहरहरूमा यसको सेवा सञ्चालन गरिएको छ।







About Us
प्रतिक्रिया