चोरीको स्कुटरसहित विशाल गिरी पक्राउ


काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित नीलो माइक्रो पार्क क्षेत्रबाट हराएको स्कुटरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने विशाल गिरी रहेका छन्। 

स्कुटर चोरी भएको भन्दै प्रहरी प्रभाग कपनमा परेको निवेदनका आधारमा  प्रहरीले खोजतलास सुरु गरेको थियो। सोही क्रममा काठमाडौंको सरस्वतीनगर क्षेत्रबाट गिरीलाई उक्त स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।