काठमाडौं – सिम्रिक एयरले पोखरामा पूर्णकालीन स्काई डाइभको अनुमति पाएको छ। कम्पनीले भगिनी कम्पनी ‘इन स्काई स्काईडाइभ’मार्फत नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान) बाट पूर्णकालीन स्काईडाइभ सेवा सञ्चालनको अनुमति प्राप्त गरेको हो। यसअघि ‘स्पेशल पर्मिशन’ लिएर मात्रै स्काई डाइभिङ गराइरहेको कम्पनीले अब भने पूर्णकालीन अनुमति पाएको हो।
अमेरिकाबाट लाइसेन्स लिएका ‘जम्पर’हरु
कम्पनीसँग अनुभवी जम्परहरु रहेका छन्। यसअघि बैंकक, दुबई लगायतमा देशमा जम्प गरिसकेका र नेपालमा पनि गर्दै आएका अनुभवी नेपाली युवाहरु यसमा समावेश रहेको सिम्रिक एयरले जनाएको छ। कम्पनीका अनुसार यसको कमाण्डर रहेका नेपाली युवा ‘सेफ्टी इन्स्टक्टर’ पनि हुन्। उनले हालसम्म २ हजार ५ सय पटक जम्प गरिसकेका छन्। अहिले यसका लागि सिम्रिकसँग ६ जना युवाहरुको टिम छ। उनीहरुमध्ये सिनियर (कमाण्डर) ले २५ सय पटक र बाँकी ५ जनाले पनि २ हजार पटकभन्दा बढी जम्प गरिसकेको कम्पनीले जनाएको छ। उनीहरु सबैले अमेरिकाबाट जम्पिङको लाइसेन्स पाएका हुन्।
साहसिक पर्यटन प्रवर्द्धनको लक्ष्य
कम्पनीले नेपाललाई पदयात्रा र घुमफिर सँगसँगै साहसिक पर्यटकीय गतिविधिको अनुपम गन्तव्यका रुपमा चिनाउने लक्ष्य समेत लिइएको जनाएको छ। सुरक्षित र साहसिक गतिविधिमार्फत नेपालको पर्यटन उद्योगमा नयाँ मानक स्थापित गर्ने उदेश्यका साथ स्काई डाइभिङ सेवा सुरु गरेको जनाउँदै सिम्रिकले अब पूर्णकालीन अनुमति पाएसँगै यो क्षेत्र थप चलायमान हुने विश्वास लिइएको जनाएको छ।
साथै, ‘एड्भेन्चर टुरिजम’मा रुची भएका युवाहरुलाई नेपालमै यससँग सम्बन्धित विभिन्न अवसरहरु छन् भन्ने सन्देश दिनका लागि पनि पूर्णकालीन इजाजत लिएर सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई ‘एड्भेन्चर’ अनुभूति गराउनुका साथै यो मुलुकका लागि भरपर्दो ‘एड्भेन्चर टुरिजम प्रडक्ट’ भएको पनि कम्पनीको भनाइ छ।







About Us
प्रतिक्रिया