सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु


सिरहा – सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले गोली लागेर एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

बरालका अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन। घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन नदिएको प्रशासनले जनाएको छ।

‘प्रदर्शनकारीले शव उठाउन दिएका छैनन्, उनीहरूले मृतकको शव सडकमै राखेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने।

यता प्रहरीले भने आफूहरूले प्रदर्शन नियन्त्रणका क्रममा गोली नचलाएको दाबी गरेको छ। प्रशासनका अनुसार प्रहरीले हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरेको जनाएको छ। युवकलाई लागेको गोली कहाँबाट प्रहार भएको हो भन्ने विषयमा भने अझै स्पष्ट हुन सकेको छैन।

घटनापछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू गोलबजार पुगेका छन्। तनावग्रस्त बनेको अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको प्रशासनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।