विदेशी नागरिकलाई धम्क्याएर रकम असुल्ने महेश रोकाया र सुरेन्द्र श्रेष्ठ पक्राउ


काठमाडौं– विदेशी नागरिकलाई धाकधम्की दिई रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२, लाजिम्पाटस्थित बलिउड डान्स क्लबका सञ्चालक कञ्चनपुरका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठ रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बलिउड डान्स क्लबमा आएका भारतीय नागरिकलाई कुटपिट गरी अत्यधिक बिल बनाइ मोबाइल बैंकिङ्ग मार्फत क्लबको खातामा जबरजस्ती रकम तिर्न लगाइएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनास्थलमा पुगेर आवश्यक सोधपुछ तथा सम्झाई बुझाइ गर्ने क्रममा पक्राउ परेका दुवैले प्रहरी कर्मचारीमाथि अश्लील शब्द प्रयोग गर्नुका साथै हातपात गरी प्रहरीको कामकारबाहीमा अवरोध गरेका थिए।

उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा  जिल्ला प्रशासन कार्यालयबाट ४  दिन म्याद थप  लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।