काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित घटनाक्रमप्रति सरकारको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको टिप्पणी गरे।
‘सरकार कहाँ छ ? के गर्दै छ ? सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनु हुँदैन, सरकार स्टाटसमा मात्रै सीमित रहनु हुँदैन,’ सभापति थापाले भने।
सभापति थापाले सरकार अभिभावक मात्र नभई नेतृत्वदायी भूमिकामा देखिनुपर्ने उल्लेख गर्दै संकटको समयमा संवाद, समन्वय र सहकार्यको आवश्यकता औंल्याए। उनका अनुसार नेतृत्वको सबैभन्दा ठूलो शक्ति विभिन्न पक्षबीच विश्वास निर्माण गर्नु र सहकार्यको वातावरण सिर्जना गर्नु हो।
सभापति थापाले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग परामर्श गर्ने, प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर संवाद गर्ने जस्ता पहल गर्नुपर्ने बताए। सरकार बनेको अभिभावक मात्रै नभएर लिडर पनि भएको उनको भनाइ छ।
सभापति थापाले विगतमा पनि विपद् तथा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू सिंहदरबारमा एकजुट भएर संवादमार्फत समाधान खोज्ने अभ्यास रहेको स्मरण गराउँदै अहिले पनि त्यही प्रकारको पहल आवश्यक रहेको धारणा व्यक्त गरे।







About Us
प्रतिक्रिया