काठमाडौं – धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार यादवले २०७७ असोज १४ गते भारतीय राजदूतावाससँगको सम्झौताअनुसार वडाबासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स प्राप्त गरेका थिए। तर उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर निजी सवारीसाधनसरह सञ्चालन गरेको खुलासा भएको छ।
अनुसन्धानबाट एम्बुलेन्स सञ्चालनसम्बन्धी लगबुक, इन्धन खर्च, सेवा विवरण तथा आम्दानी–व्ययको कुनै आधिकारिक अभिलेख नराखिएको खुलेको छ। आयोगका अनुसार यादवले एम्बुलेन्सबाट प्राप्त हुने आम्दानी स्थानीय तहको खातामा जम्मा नगरी व्यक्तिगत लाभका लागि प्रयोग गरेका थिए। ३ वर्ष ५ महिनाको अवधिमा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर गुडाइएको र त्यसबापत भाडा असुल गरिएको पाइएको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको एम्बुलेन्स सेवा दररेटका आधारमा गणना गर्दा यादवले १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानी–नोक्सानी पुर्याएको अख्तियारको ठहर छ।
अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट बच्न खोज्दै यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको देखिए पनि अझै ११ लाख २७ हजार ६५३ रुपैयाँ असुलउपर गर्नुपर्ने आयोगले जनाएको छ।
अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर जरिवाना, कैद सजाय तथा बाँकी रकम असुलउपरको माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।








About Us
प्रतिक्रिया