झापामा घरेलु तथा साना उद्योगबाट २ करोड राजस्व सङ्कलन


झापा – घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत २ करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ सेवामूलक उद्योग रहेका छन् । त्यसैगरी १४७ उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, ३ सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।

कार्यालयले संकलन गरेको कुल राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट १ करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट ६५ हजार प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।