काठमाडौं – नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (भोलि) औपचारिक रूपमा उद्घाटन हुँदैछ।
सडक विभागका अनुसार २०८३ साउन ११ गते सोमबार बिहान साढे १० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिनेछ। उद्घाटन समारोह सुरुङमार्गको पूर्वी विन्दु ९बलम्बु० मा आयोजना गरिने कार्यक्रम रहेको छ।
सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई मात्र प्रवेश दिइने यस आयोजनामा सर्वसाधारणका अन्य योग्य सवारीसाधनलाई भने चरणबद्ध रूपमा छाडिनेछ। सुरुवाती १५ दिनसम्म कुनै शुल्क नलिइने र त्यसपछि तोकिएको शुल्क ९हलुका सवारीलाई प्रवेशमा ६५ र बाहिरिँदा ६० देखि भारी सवारीलाई ६०० सम्म लागू हुने आयोजनाले जनाएको छ। तर, पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे तथा अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङमा प्रवेश पाइने छैन।
यसैबिच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शिलालेख हराएको तथ्य बाहिरिएको छ ।
किन हट्यो केपी ओलीले शिलान्यास गरेको शिलालेख ?
नागढुंगा सुरुङमार्गको शिलान्यास नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए। तर, शिलान्यासका क्रममा अनावरण गरिएको शिलालेख अहिले भने आयोजना स्थलमा छैन। आयोजना पक्षका अनुसार सुरुङ निर्माणको क्रममा उक्त शिलालेख रहेको स्थानबाटै उत्खनन गर्नुपर्ने भएपछि त्यसलाई हटाएर सुरक्षित रूपमा सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखा कार्यालयमा राखिएको थियो।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सडक विभागको भवनमा भएको आगजनीबाट शिलालेखसमेत प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ। ‘हामीले उद्घाटनअघि पुनः खोजी गर्यौं, तर शिलालेख फेला पार्न सकेका छैनौं,’ पन्थीले बताए। उनका अनुसार शिलालेख हराउनुमा कुनै राजनीतिक दबाब वा माथिल्लो निकायको निर्देशन नभई निर्माण प्रक्रियाकै कारण हटाइएको र पछि आगलागीका कारण हराएको हुनसक्ने देखिएको छ।
शिलालेख फेला नपरेपछि उद्घाटन समारोहमा नयाँ शिलालेख राख्ने वा नराख्ने विषयमा हालसम्म कुनै निर्णय भएको छैन। सामान्यतया शिलान्यासका बेला प्रयोग गरिएको शिलालाई नै उद्घाटनस्थलमा राख्ने प्रचलन भए पनि अहिले त्यो सम्भव नदेखिएको अधिकारीहरूको भनाइ छ।







About Us
प्रतिक्रिया