डलर साटिदिने बहानामा ३ लाख ८४ हजार लुट्ने चार जना पक्राउ


काठमाडौं –  डलर साटिदिने भन्दै ३ लाख ८४ हजार लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सिन्धुपाल्चोकका धन बहादुर तामाङ, लोक बहादुर तामाङ,  राज कुमार लामा र विजय तामाङ रहेका छन् । 

काठमाडौंको विभिन्न स्थानहरूमा डलर साटिदिने भनि प्रलोभनमा पारी रकम लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कपनबाट पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले  ३ लाख ८४ हजार नगद,  अमेरिकन डलर ५० दरको नोट १ थान, सुनको औंठी, ब्रसलेट, रिङ र  तिलहरी बरामद गरेको छ । साथै, अनुसन्धानको क्रममा धन बहादुर तामाङविरुद्ध विभिन्न मितिमा ठगी सम्बन्धी कसुरमा ६ वटा मुद्दा दर्ता भएको देखिएको र लोक बहादुर तामाङ विरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैंकिङ्ग कसुर मुद्दामा समेत फरार देखिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई  नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन  म्याद थप  लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।