विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गर्ने विवेक रेग्मी र मोहम्मद याशिर पक्राउ


काठमाडौं –  अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारत कर्नाटक महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय मोहम्मद याशिर रहेका छन् । 

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै स्क्याम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ओसिस टुरिजम इन्टरनेसनल नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरूलाई समेत खटाई अनलाइन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी ‘ थ्री एनरफोर डी हलिडे भाउचर फिल एन्ड विन, रजिस्टर एन्ड विन, एस्योर्ड गिफ्ट’ लेखिएको कुपन भर्न लगाई रकम उठाउने गरेको र हालसम्म ३० जना व्यक्तिहरूलाई एसिया र युरोप महादेशका विभिन्न देशमा घुमाउने भन्ने प्रलोभनमा पारी उक्त कुपन भर्न लगाई ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको समेत खुल्न आएको छ ।

साथै, प्रहरीले उनीहरूको साथबाट कम्प्युटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्ट्याम्प छाप ४ थान र विभिन्न व्यक्तिहरूको नाममा काटिएका कुपनहरूको अर्धकट्टी समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।