कास्की प्रहरीको ‘अपरेसन ३६५’ : स्वरूप बदलेर ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट सञ्चालन भई रहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा परेको छ । 

प्रहरीले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चेकजाँच गर्दा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ वटा सवारी साधनहरू नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेक साईड, ड्याम साईड, बिरौटा, छोरे पाटन एरियाबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने,  वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपार्क, हरि चोक एरियाबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

साथै, ‘अपरेसन ३६५’ अभियान अन्तर्गत हाल सम्ममा ७४० वटा सवारी साधन र ३६ जना मानिस नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ।