थाइल्याण्डमा भएको ‘एफबीआई रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ मा आईजीपी कार्की सहभागी



काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजित ‘एफबीआई रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ मा सहभागी भएका छन्।

मानव बेचबिखन, साइबर ठगी, अन्तरदेशीय संगठित अपराध तथा सीमापार आपराधिक सञ्जालविरुद्ध सहकार्य सुदृढ बनाउने उद्देश्यले आयोजित सम्मेलनमा विभिन्न देशका सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा अनलाइन स्क्याम सेन्टर, साइबर अपराध नियन्त्रण, सूचना आदानप्रदान तथा संयुक्त अनुसन्धानका विषयमा छलफल भएको थियो। नेपालका तर्फबाट आईजीपी कार्कीले संगठित अपराध नियन्त्रण र अन्तर्राष्ट्रिय समन्वयमा नेपाल प्रहरीले गरिरहेका प्रयासबारे धारणा राखेका थिए।

एफबीआई प्रमुख काश पटेलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा सहभागी देशहरूले अन्तरदेशीय अपराध नियन्त्रण, सूचना साझेदारी र संयुक्त कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल प्रहरीका लागि यस्तो सम्मेलनमा सहभागिता साइबर अपराध तथा संगठित अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।