काठमाडौं – लामो समयदेखि बाकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाई सम्पन्न भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबिच दुई चरणमा भएका सम्झौता बमोजिम विगतदेखि रोकिँदै आएको कुल २७ लाख थान स्मार्ट लाइसेन्स छपाइको काम सकिएको हो। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका सबै आवेदनहरूको छपाइ कार्य सकिएको र अब उपरान्त यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ लाइसेन्स छापेर उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौता बमोजिम निर्धारित समयभित्र १२ लाख प्रति लाइसेन्स छापिएको थियो भने बाँकी रहेका आवेदन व्यवस्थापनका लागि २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख अनुमतिपत्र छाप्ने कार्य सुरु गरिएको थियो, जुन कार्य २०८३ असार ३२ गते सफलतापूर्वक सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्सको छपाइ कार्य पूरा भएको हो।विगतमा लाइसेन्स प्रिन्ट हुन वर्षौँ कुर्नुपर्ने बाध्यता अन्त्य गर्दै हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको दैनिक प्राप्त हुने ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्रै कार्ड छापेर विभागलाई हस्तान्तरण गर्दै आएको छ।
यस व्यवस्थाले लाइसेन्स वितरण प्रक्रियालाई अत्यन्तै द्रुत र व्यवस्थित बनाएको मन्त्रालयको दाबी छ। सुरक्षण मुद्रण केन्द्रमार्फत अब सातै प्रदेश सरकार तथा सम्बन्धित प्रदेशका यातायात मन्त्रालयहरूसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने दीर्घकालीन तयारी समेत भइरहेको छ। केन्द्रका अनुसार आगामी दिनमा सवारी चालक अनुमतिपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) जस्ता अति संवेदनशील सुरक्षण मुद्रण सामग्रीहरू समेत स्वदेशमै उत्पादन गर्ने आन्तरिक तयारी शुरु गरिएको छ।






About Us
प्रतिक्रिया