रौतह- गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन्।गरुडा नपा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा ‘डिप्रेसन’बाट पीडित स्थानीय युवाले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मङ्गलबार राति आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले सहनीको घाँटीभन्दा मुनिको करिब ३५ प्रतिशत भाग जलेको अवस्थामा स्थानीय चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ।
घाइते युवा डिप्रेसनको समस्यामा रहेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख गर्दै जिल्ला प्रहरी प्रवक्ता गौतमले निजको विस्तृत जानकारीसहित घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए।
शरीरमा पेट्रोल खन्याइ आगो लगाएको थाहा पाउनासाथ परिवारका सदस्यले उनलाई उपचारका लागि राति नै गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। सो अस्पतालमा प्राथमिक उपचार गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पताल ‘रिफर’ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
वडाध्यक्ष सहानीका अनुसार घाइते युवा श्रीमतीसहित तीन छोरासँगै गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका थिए।






About Us
प्रतिक्रिया