काठमाडौं – सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो।
कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो।
उक्त विषयमा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। काठमाडौं फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत् अवरोध समाधानका लागि आवश्यक परेको ‘यान्त्रिक क्रेन’ पठाउन नियामक निकायसँग समन्वय गरेका थिए।
‘कर्णाली प्रदेशभित्रको विद्युत् समस्यालाई सम्बोधन गर्न गरिएको समन्वयले अब सार्थकता पाउँदैछ, आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री श्रेष्ठले भने।
उक्त निर्णयसँगै सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत् मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। सार्वजनिक सेवाका व्यवहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी रहेको मन्त्री श्रेष्ठले बताए।






About Us
प्रतिक्रिया