डाटाहबले सार्वजनिक गर्‍यो ‘एती क्लाउड एआई’ पूर्वाधार प्लेटफर्म


काठमाडौं – विगत १५ वर्षदेखि नेपालमा डाटा सेन्टर तथा क्लाउड सेवा प्रदान गर्दै आएको डाटाहब प्रालिले विश्वकै अग्रणी एआई इन्फ्रास्ट्रक्चर प्लेटफर्म प्रदायक कम्पनी होस्टेड.एआईसँगको सहकार्यमा ‘एती क्लाउड एआई’ (YetiCloud.ai) पूर्वाधार प्लेटफर्म सार्वजनिक गरेको छ। नेपालकै आफ्नै एआई पूर्वाधारका रूपमा विकास गरिएको ‘एती क्लाउड एआई’ प्लेटफर्ममार्फत व्यवसायी, डेभलपर, अनुसन्धानकर्ता तथा निजी र सरकारी निकायहरूले जीपीयूमा आधारित एआई सेवाहरू सहज रूपमा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपालको डिजिटल रूपान्तरणलाई गति दिने उद्देश्यले विकास गरिएको उक्त प्लेटफर्मले एआई समाधानको विकास, होस्टिङ र विस्तारमा सहयोग पुर्‍याउनेछ। यसले नेपाललाई एआई प्रविधिमा आत्मनिर्भर बनाउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न, डाटा सार्वभौमिकता कायम गर्न, कम विलम्बता सुनिश्चित गर्न तथा उच्च क्षमतायुक्त एआई कम्प्युटिङ सेवामा सबैको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा होस्टेड एआईको प्राविधिक सहयोगमा डाटाहबको डाटा सेन्टर प्रयोग गरी ‘एती क्लाउड एआई’ पूर्वाधारमा एआई डेभलपमेन्ट, डेप्लोयमेन्ट, मोडल ट्रेनिङ, फाइन ट्युनिङ तथा इन्फरेन्सजस्ता सेवाको आधार तयार गरिएको जानकारी दिइयो। त्यसैगरी, जीपीयू–एज–ए–सर्भिसका रूपमा ‘एती क्लाउड एआई’ सेवा सञ्चालन गर्न होस्टेड.एआईले प्लेटफर्म सञ्चालन, सेल्फ–सर्भिस एक्सेस, एआई डेप्लोयमेन्ट इन्भाइरोन्मेन्ट तथा मोडर्न क्लाउड सम्बन्धी सेवामा सहकार्य गर्ने जनाएको छ।

होस्टेड एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेटलिभ ब्रदहिले विद्युतीय ऊर्जालाई कम्प्युटिङमा, कम्प्युटिङलाई कृत्रिम बुद्धिमत्तामा र कृत्रिम बुद्धिमत्तालाई आर्थिक वृद्धिमा रूपान्तरण गर्दै नेपालको डिजिटल बजार विस्तार गर्ने महत्वपूर्ण अवसर रहेको बताए। डाटाहब प्रालिका प्रबन्ध निर्देशक दीपक श्रेष्ठले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको योगदान उल्लेख गर्दै डाटाहबको जीपीयू सेवाले सूचना प्रविधि क्षेत्रको विकास, प्रवर्द्धन र नवप्रवर्तनलाई थप गति दिने विश्वास व्यक्त गरे।

डाटाहब प्रालिका प्रबन्ध निर्देशक दीपक श्रेष्ठले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको योगदान उल्लेख गर्दै डाटाहबको जीपीयू सेवाले सूचना प्रविधि क्षेत्रको विकास, प्रवर्द्धन र नवप्रवर्तनलाई थप गति दिने विश्वास व्यक्त गरे। उनले नेपाली रुपैयाँमै भुक्तानी गरेर स्वदेशी प्राविधिकबाट सेवा लिन सकिने भएकाले नेपाली सूचना प्रविधि विज्ञलाई स्वदेशमै अवसर सिर्जना हुनुका साथै विदेशी मुद्रा बचतमा समेत योगदान पुग्ने बताए।