काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। राष्ट्रियसभाको आजको बैठकमा सो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दिवा सेवा केन्द्र नभएका ५० स्थानीय तहमा साझेदारीमा नयाँ केन्द्र स्थापना गरिने जानकारी दिइन्।
उनले भनिन्,‘स्थानीय तहको आवश्यकता र सिफारिसका आधारमा सेवा केन्द्र स्थापनाका लागि स्थान तय गरिने छ। त्यसका लागि मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी सहजीकरण गर्ने छ।’ आगामी आवमा भक्तपुरको सूर्यविनायकमा भवन निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले सडक बालबालिकाको विषयमा पनि मन्त्रालय संवेदनशील रहेको बताए।
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्यका ‘विशेष संरक्षण निर्देशिका–२०८२’ स्वीृकत गरिएको उनले उल्लेख गरे। ‘सडकमा बालबालिका देख्ने बित्तिकै उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श, परिवारको खोजी तथा पारिवारिक पुनःमिलन गराउने व्यवस्था राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह, नेपाल प्रहरी र अन्य सङ्घसंस्थाको समन्वयमा अगाडि बढाइरहेको छ’, उनले भनिन्।
उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास, उद्यमशीलता, स्वरोजगार र प्रविधिमा पहुँच, सीप परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको बताइन्। मन्त्री वादीले महिलामाथि हुने हत्या तथा सबै प्रकारका हिंसाप्रति सरकार अति गम्भीर र संवेदनशील रहेको बताउँदै हिंसा प्रभावित तथा जोखिममा रहेका महिला र किशोरीको आर्थिक सशक्तीकरण कार्यक्रमलाई बजेटमा समावेश गरिएको प्रष्ट पारे।
उनले आगामी आर्थिक वर्षमा संविधान बमोजिम महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलनका नाममा कुनै पनि यौनजन्य शोषण हुन नदिन लैङ्गिक हिंसाविरुद्धको एकीकृत कानुन तर्जुमा गरिने बताए।






About Us
प्रतिक्रिया