काठमाडौं – देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश सहरी क्षेत्रमा दिनभर बदली रही वर्षा हुने पूर्वानुमान छ।
विभागले सार्वजनिक गरेको सहरगत मौसम पूर्वानुमानअनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश प्रमुख सहरमा आज दिनभर र रातिको समयमा पनि वर्षाको सम्भावन छ। विशेषगरी काठमाडौं, पोखरा, ओखलढुङ्गा, ताप्लेजुङ, जिरी तथा डडेलधुरामा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, विराटनगर, धरान, धनकुटा, भैरहवा, घोराही, वीरेन्द्रनगर, जुम्ला, दीपायल तथा सिमरामा ४० प्रतिशत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। जनकपुर, नेपालगञ्ज र जोमसोममा भने हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको छ। राजधानी काठमाडौंमा आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। रातिको न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ भने दिन र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
पर्यटकीय सहर पोखरामा अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यहाँ दिन र राति दुवै समयमा मध्यम वर्षाको सम्भावना ६० प्रतिशत छ। ओखलढुङ्गा, ताप्लेजुङ र जिरीमा पनि निरन्तर वर्षा हुने सम्भावा रहेकाले पहाडी सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। पूर्वी तराईका विराटनगर, धरान र जनकपुरमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहे पनि अधिकतम तापक्रम ३३ देखि ३७ डिग्री सेल्सियस रहने हुँदा गर्मीको प्रभाव पनि कायमै रहने अनुमान छ।
पश्चिम नेपालका धनगढी, नेपालगञ्ज, भैरहवा र घोराहीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अधिकतम तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने भएकाले वर्षासँगै गर्मी पनि बढ्ने सम्भावना छ। त्यस्तै धनगढी र नेपालगञ्जमा रातिको समयमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ। हिमाली क्षेत्रका जुम्ला, जोमसोम र ताप्लेजुङमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रमा लगातारको वर्षाले पहिरोकाकारण सडक यात्रामा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
विभागका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण केही स्थानमा छोटो अवधिमै मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा खोल्सामा आकस्मिक बहाव बढ्न सक्छ। पहाडी तथा हिमाली जिल्लामा पहिरो र गेग्रान बहाव तथा सहरी क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। मौसमविद् सञ्जीव अधिकारीले मेघगर्जन र चट्याङको समयमा खुला स्थान, अग्ला रुख, बिजुलीका पोल तथा नदी किनारमा नबस्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न विभागका तर्फबाट सबैमा आग्रह गरे। उनले स्थानीय प्रशासन र मौसम विभागबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरेका छन्।






About Us
प्रतिक्रिया