लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो


रसुवा – लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ। पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा भने हालसम्म ५० हजार ३ सय ६० पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७ सय ८८ जना र अन्य मुलुकका १० हजार ५ सय ६१ जना छन्।

पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा पाँच करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षमा हालसम्म चार करोड २८ लाख २२ हजार ७ सय ५६ रुपैयाँ मात्र सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन्। पर्यटनबाट प्राप्त राजस्वले निकुञ्ज संरक्षण, जैविक विविधताको व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।