रौतहटमा नमूना विद्यालयको भवन निर्माणमा ११ लाख भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको भवन निर्माणमा ११ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

विद्यालयको टेण्डर तथा भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको प्रि–स्कुल ब्लक निर्माणमा गैरकानुनी रूपमा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको आयोगले जनाएको छ । 

राजपुर नगरपालिकाको २०७५ फागुन ३ गतेको निर्णयअनुसार बहुवर्षीय गुरुयोजना स्वीकृत भएपछि विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरिएको थियो। परामर्शदाता डी.बी. मल्टि इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ ६२ पैसा तयार गरेकोमा पछि संशोधन गरी एक करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ ४० पैसा कायम गरिएको आयोगले जनाएको छ। निर्माण समितिले भवन निर्माण सम्पन्न भएको भन्दै एक करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ १० पैसाको मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी थप रकम माग गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

आयोगका अनुसार वास्तविक निर्माणभन्दा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको बढी काम भएको देखाई झुट्टा बिल तथा भरपाई तयार गरी बढी भुक्तानी लिएको पाइएको छ । आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ ) बमोजिमको कसुरमा ११ लाख १० हजार बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।