युएईमा ५ नेपालीले जिते १ अर्ब २३ करोडको ‘लट्री’, नेपालमा वैधानिक रुपमा रकम भित्र्याउँदै लगानी गर्ने इच्छा


काठमाडौं – संयुक्त अरब इमिरेट्स युएई मा सञ्चालन हुने ‘द युएई लट्री’मार्फत ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड रुपैयाँ) को भाग्यशाली चिट्ठा जितेका पाँच नेपाली युवाले उक्त रकम वैधानिक रूपमा नेपाल भित्र्याएर लगानी गर्ने इच्छा व्यक्त गरेका छन्।

युएईमा कार्यरत पाँच नेपाली युवाको टोलीले बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा राजदूत तेजबहादुर क्षेत्रीसँग सामूहिक भेट गर्दै आफूहरूले प्राप्त गरेको रकम कानुनी प्रक्रियामार्फत नेपाल पठाई विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको बताएका हुन्।

लटरी जित्ने नेपालीहरूमा गोर्खाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने रहेका छन्। भेटका क्रममा उनीहरूले लटरीबाट प्राप्त रकम वैधानिक रूपमा नेपाल भित्र्याउन आवश्यक प्रक्रिया सहज बनाउन तथा नेपाल सरकारका सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण गरिदिन दूतावाससँग आग्रह गरेका छन्।

राजदूत क्षेत्रीले उनीहरूलाई नेपालमा उपलब्ध विभिन्न लगानीका सम्भावनाको अध्ययन गरी देशको विकास र समृद्धिमा योगदान पुग्ने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्। साथै, प्राप्त रकम कानुनी रूपमा नेपाल पठाउने प्रक्रियामा नेपाली राजदूतावासबाट आवश्यक पूर्ण सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।