काठमाडौं – मन्त्रिपरिषद्ले प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा निर्णयअनुसार कार्य विभागमा कार्यरत एआईजी उमा चर्तुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मेवारी दिइएको छ। सीआईबीका एआईजी डा.मनोज केसीलाई भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
यस्तै, एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पठाइएको छ। रानीपोखरीमा कार्यरत एआईजी ईश्वर कार्कीको मानव स्रोत विकास विभागमा सरुवा गरिएकाे छ। मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) मा सरुवा गरिएको छ भने प्रहरी एकेडेमीका एआईजी सिद्धिविक्रम शाहलाई कार्य विभागको जिम्मेवारी दिइएको छ।
साथै, प्रदेश समन्वय विभागका एआईजी डम्बर विकलाई प्रशासन विभागमा सरुवा गरिएको छ। प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा पठाइएको छ। सरकारले प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।






About Us
प्रतिक्रिया