काठमाडौं – नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ऋण नउठेर सर्वसाधारणको धितो (घरजग्गा) बैंकमा थुप्रिने क्रम तीव्र रूपमा बढेको छ । तर, बजारमा आर्थिक शिथिलताका कारण ती सम्पत्ति किन्ने मान्छे र उचित मूल्य नपाउँदा बैंकहरूले तिनलाई बिक्री गर्न सकेका छैनन् । यसरी अर्बौँको सम्पत्ति लामो समयसम्म विनाउपयोग थन्किँदा बैंकहरूलाई नोक्सान भइरहेको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै बैंकरहरूले बैंकको नाममा आएका यस्ता सम्पत्तिहरूलाई भाडा (लिज) मा दिएर आम्दानी गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकार र राष्ट्र बैंकसँग माग गरेका छन् । यसका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा आवश्यक संशोधन गर्न उनीहरूले सुझाव दिएका हुन् ।
बैंकहरूको यो माग अन्तर्राष्ट्रिय रूपमा नौलो भने होइन । धितो सकारेको सम्पत्ति व्यवस्थापन गर्न वा भाडामा लगाएर आम्दानी गर्ने कानुनी अभ्यास विश्वका धेरै देशमा सफल छन् । उदाहरणका लागि, अमेरिकामा बैंकले कब्जा गरेको यस्तो सम्पत्तिलाई आरईओ भनिन्छ । त्यहाँको केन्द्रीय बैंकको नियम अनुसार बैंकहरूले आफैँ वा व्यावसायिक एजेन्सीमार्फत ती घरजग्गा भाडामा लगाउन सक्छन् । त्यस्तै, भारतको बैंकिङ नियमन ऐन अनुसार बैंकले यस्ता गैरबैंकिङ सम्पत्ति ७ वर्षभन्दा बढी राख्न पाउँदैनन् । तर सो अवधिभित्र मर्मत खर्च उठाउन र आम्दानी गर्न अल्पकालीन रूपमा भाडामा दिने अनुमति छ । मलेसिया र थाइल्याण्डमा पनि सम्पत्ति लिलामी नहुँदासम्म भाडामा लगाएर प्रतिफल लिने कानुनी बाटो खुला छ । स्पेन र आयरल्याण्ड जस्ता युरोपेली देशहरूमा त सन् २००८ को संकटपछि सरकारले नै ब्याड बैंक वा सम्पत्ति व्यवस्थापन कम्पनीमार्फत खरिद गरेर बैंकका यस्ता घरजग्गा व्यावसायिक रूपमा भाडामा लगाउने वा बेच्ने काम गरिरहेका छन्। चीनले पनि बैंकहरूको खराब कर्जा र थुप्रिएका रियल इस्टेट सम्पत्ति व्यवस्थापन र पुनर्संरचना गर्न राज्य-नियन्त्रित ठूला कम्पनीहरू परिचालन गरेको छ ।
०८३ वैशाखको तथ्याङ्क अनुसार बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत र बचत तथा ऋणको ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) ३.४० प्रतिशत छ। चालु आर्थिक वर्ष ०८२/८३ को जेठ २२ गतेसम्म बैंकहरूमा सर्वसाधारणको बचत (निक्षेप) १०.७८ प्रतिशतले बढ्दा ऋण लगानी भने जम्मा ५.७२ प्रतिशतले मात्र बढेको छ । आन्तरिक र बाह्य विविध कारणले बजार सुस्त हुँदा ऋणको माग घटेको मात्र छैन, पुरानो ऋण उठाउन समेत बैंकहरूलाई निकै हम्मे-हम्मे परेको छ। यसका कारण २०८२ चैत मसान्तसम्म बैंकहरूको खराब कर्जा बढेर ५.४१ प्रतिशत पुगेको छ । सर्वसाधारणले ऋण तिर्न नसकेर बैंकको नाममा आइसकेको गैरबैंकिङ सम्पत्ति झण्डै ५० अर्ब रुपैयाँ थुप्रिएको छ ।
यस्तो संकटले गर्दा बैंकहरूको आफ्नै प्राथमिक पूँजी घटेर औसतमा ९.७२ प्रतिशतमा खुम्चिएको छ। व्यावसायिक शिथिलताका कारण बैंकहरूको शेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य मुनाफा १० अर्ब रुपैयाँभन्दा धेरै ऋणात्मक अर्थात् घाटामा गइसकेको छ । यस्तो नाजुक अवस्थामा थन्किएर बसेको ५० अर्बको सम्पत्तिलाई भाडामा लगाएर आम्दानी गर्न पाए बैंकिङ क्षेत्रले ठूलो राहत पाउने बैंकरहरूको बुझाइ छ ।






About Us
प्रतिक्रिया