सालीनदीमा प्रहरी र शङ्स्पद लागूऔषध कारोबारीबीच झडप


काठमाडौं – शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई शुक्रबार पक्राउ गरिएको हो। उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी ‘फायर’ गर्दा घाइते भएका निजको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।