मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बीमा र शिक्षामा पहुँच अझै कमजोर


महेन्द्रनगर – जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ।

सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखाएको छ।

प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो।

त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका (लिखुरे) बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका (पुड्को) ३१.१ प्रतिशत रहेका छन्।

शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ। कक्षा १–५ मा ९।२ प्रतिशत, ६–८ मा ८।२ प्रतिशत र ९–१२ मा २२.६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्। प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने दर पनि मधेशमा २६.३ प्रतिशत मात्र रहेको छ।

स्वास्थ्य सेवाको पहुँचमा असमानता देखिएको छ। मधेस प्रदेशमा केवल ७०।४ प्रतिशत महिलाले सिफारिसअनुसार चार पटक पूर्वप्रसूति जाँच गराएका छन् भने स्वास्थ्य बीमा गर्नेको सङ्ख्या निकै न्यून छ महिला ६.६ प्रतिशत र पुरुष ३.९ प्रतिशत मात्र छ।

प्रजनन् स्वास्थ्यतर्फ मधेसमा कुल प्रजनन् दर २.४ रहेको छ, जुन राष्ट्रिय औसत १.९ भन्दाबढी हो। किशोरी (१५–१९ वर्ष) प्रजनन् दर पनि उच्च (प्रति १००० मा ७१) देखिएको छ।

यद्यपि, केही सकारात्मक पक्ष पनि देखिएका छन्। मधेसमा ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच पुगेको छ भने ९४.७ प्रतिशतमा टेलिफोन सुविधा उपलब्ध छ। ७८.९ प्रतिशत घरपरिवारले इन्टरनेट प्रयोग गर्ने उपकरण प्रयोग गरिरहेका छन्।

खानेपानीतर्फ सुधारिएको स्रोत प्रयोग गर्नेको प्रतिशत उच्च (९९प्रतिशत) भएपनि ६५ प्रतिशत पानीमा ‘इ–कोली’ जीवाणु भेटिनु चिन्ताजनक रहेको प्रतिवेदनले देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले यस सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले नीतिनिर्माण, योजनातर्जुमा र दिगो विकास लक्ष्यको अनुगमनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। यो सर्वेक्षण युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिएको हो।