सरकार गठनको एक महिना नपुग्दै गयो २ मन्त्री पद 


काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएको महिना दिन नबित्दै २ मन्त्री बाहिरिएका छन्। दुवै मन्त्रीहरू विवादमा परेपछि बाहिरिएका हुन्। 

यसअघि आफ्नी श्रीमतीलाई बीमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए। उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो।

यस्तै, २६ दिनमा आज गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। सम्पत्तिमाथि प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन्। पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले जनाएका छन्। उनी गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए।