गृहमन्त्री गुरुङको राजीनामा माग्दै काँग्रेसको दबाब: ‘तत्काल निष्पक्ष छानबिन गरियोस्’


काठमाडौं- नेपाली काँग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग आग्रह गरेको छ। 

सोमबार नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री गुरुङबारे आएका समाचारले गम्भीर प्रश्न उठाएको जनाएका छन्। काँग्रेसले उक्त विषयलाई सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको मुद्दा भएको जनाएको छ।

काँग्रेसले गृहमन्त्रीमाथि लागेको आरोपबारे ढिलासुस्ती नगरी तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेको छ। ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’

गृहमन्त्री गुरुङमाथि निष्पक्ष रुपमा अनुसन्धान गर्ने वातावरण बनाउन पनि काँग्रेसले आग्रह गरेको छ। यसका लागि गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने काग्रेसको माग छ।