काठमाडौं – प्रभु म्यानेजमेन्ट प्रालिको ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट हाजिरी जमानीमा छुटेका प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन फरार भएका छन्। सीआईबीका अनुसार उनी हाल सम्पर्कविहीन छन् र खोजी कार्य तीव्र पारिएको छ। सीआईबीले भट्टचनलाई २५ कात्तिकमा हाजिरी जमानीमा रिहा गरेको थियो।
रिहा गर्दा बोलाएको बखत सीआईबीमा अनिवार्य उपस्थित हुनुपर्ने सर्त तोकिएको थियो। तर, सरकारी वकिल कार्यालयमा उनीसमेत प्रतिवादी बनाएर अभियोगपत्र पेस भएपछि सीआईबीले पटकपटक बोलाउँदा पनि उनी उपस्थित नभएको खुलेको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले भने, ‘उहाँ फरार हुनुहुन्छ। हाजिरी जमानीमा रिहा भएपछि सरकारी वकिल कार्यालयमा प्रतिवादीका रूपमा अभियोगपत्र दर्ता गरियो। त्यसपछि बोलाउँदा पनि उहाँ हाजिर हुनुभएन। अहिले खोजी भइरहेको छ।’ कुनैपनि मुद्दा अदालतमा पुगेपछि कानुनी निकायले बोलाएको अवस्थामा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ। तर भट्टचन उपस्थित नभएपछि उनी फरार सूचीमा राखेर खोजी सुरु गरिएको सीआईबीले जनाएको छ।
प्रभु म्यानेजमेन्ट ठगी प्रकरणमा अनुसन्धान पूरा नहुँदै जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा भट्टचन थुना मुक्त भएका थिए। सरकारी वकिल कार्यालयले उनलाई ‘बिरामी’ भएको कारण देखाउँदै रिहा गर्न निर्देशन दिएको सीआईबी स्रोत बताउँछ।

सामान्यतया कुनै पनि आपराधिक मुद्दामा अनुसन्धान पूरा गर्न प्रहरीले २५ दिनसम्मको समय पाउने व्यवस्था छ। तर, भट्टचन भने अनुसन्धान चलिरहेकै बेला १५ दिनमै थुनामुक्त भएका थिए।
सात जनाविरुद्ध अभियोग, भट्टचन पनि प्रतिवादी
अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भएको आरोपबीच पनि सीआईबीले प्रभु म्यानेजमेन्ट प्रालिमा भएको ठगीसम्बन्धी अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको थियो। सो अभियोगपत्रमा सात जनालाई प्रतिवादी बनाइएको छ। यसमा भट्टचनको नामसमेत समावेश छ। तर, अभियोगपत्र दर्ता भइसकेपछि उनी सीआईबीको सम्पर्कमा नरहेको जनाइएको छ।
भट्टचनसम्बन्धी अनुसन्धानकै क्रममा प्रभु बैंकमा भएको कर्जा अपचलनको विषय समेत बाहिरिएको सीआईबीले जनाएको छ। यसअघि पनि थुनामुक्त भएपछि अनुसन्धान प्रभावित हुने आशंका गरिएको भएता पनि सीआईबीले अनुसन्धान प्रक्रिया पूरा गरेको थियो। अब भने मुख्य प्रतिवादी नै फरार भएपछि यो प्रकरण थप जटिल बन्दै गएको छ। सीआईबीले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउने तयारी गरिरहेको जनाएको छ।





About Us
प्रतिक्रिया