बैंकिङ्ग समाचार, काठमाडौं ।
यस वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।
दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्ट (असोज २९ ) देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक बताएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ छ ।
राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ ।
क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउने राष्ट्र बैंकले बताएको छ । यद्यपि सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न आग्रह गरिने राष्ट्र बैंकको तयारी छ ।
दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
प्रतिक्रिया