बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने भएको छ । महासंघले देशैभरका उद्योगी व्यवसायीमार्फत पूँजी संकलन गरी ‘बृहत् लगानी कम्पनी’ खडा गर्ने भएको छ । बागलुङको ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले देशका ७७ वटै जिल्लाका उद्योगी व्यवसायीको सहभागिता रहने गरी बृहत् लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । महासंघका अनुसार यो कम्पनीले ठूला परियोजनामा लगानी गर्नेछ ।
‘७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय भएको छ’ महासंघले भनेको छ । तर, कति पूँजीको कम्पनी स्थापना गर्ने र त्यसको मोडालिटी कस्तो हुने भन्ने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
अहिले ठूला परियोजनामा लगानी गर्न सक्ने र त्यस्ता परियोजनामा लगानी अभाव नहोस् भन्नका लागि बृहत् कम्पनी स्थापना गर्ने निर्णय मात्रै भएको र पूँजी कति हुने भन्ने अन्तिम निर्क्योल हुन बाँकी रहेको महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । उनका अनुसार बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले देशैभरीका उद्योगी व्यवसायीको लगानी रहने गरी बृहत् इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने प्रस्ताव गरेका थिए । अध्यक्षले गरेको प्रस्ताव कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो ।
प्रतिक्रिया