बैकिङ्ग समाचार बागलुङ ।
जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण र जोखिम बढ्दै गएपछि बागलुङ नगरमा जारी निषेधाज्ञा एक साता थप गरिने भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञाको घोषणा गरेको थियो । जुन समय अवधि मंगलवार राति १२ बजे सकिदैछ ।
बागलुङ नगर क्षेत्रमा संक्रमित र उनीहरुको सम्पर्कमा भएकालाई समेत ठुलो संख्यामा संक्रमण भएको पाइए थप कडाइका साथ एक साताका लागि निषेधाज्ञा जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । सोमबार जिल्ला प्रशासन कार्यलय बागलुङ र सरोकारवाला बीचको बैठकले बुधवार रातिदेखि भाद्र १५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले बैंक, सहकारी तथा वित्तिय संस्था पनि पुर्ण रुपमा बन्द गर्ने र अत्यावश्यकीय खाद्य, तरकारी लगायतका पसल दिनमा विहान बेलुका सञ्चालन खुल्ला गरिएकोमा एक समय मात्र बिहान ७–९ बजेसम्म मात्र खुलाउने निर्णय गरेको प्रजिअ न्यौपानेले बताए ।
संक्रमितको फेरी संख्या बढ्न थाले पछि अब लक्षण देखिएकालाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको आइसोलेसन तथा लक्षण नदेखिएकालाइ धौलागिरी बहिरा स्कुल रामरेखामा राख्ने गरी व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । बागलुङ नगरपालिकामा दुई व्यवसायी महिलामा कोरोना संक्रमण पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसबाट ठुलो संख्यामा संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर यसबीचमा पीसीआर परीक्षण कार्यलाई तिव्र पारिएको छ ।
जिल्लाभरमा हाल सम्म २ सय ८३ जना कोरोना संक्रमित भएका छन् । जसमा २ सय ६० जना निको भएर घर फर्किसकेका छन् भने एक युवकको मृत्यु भएको छ ।
प्रतिक्रिया