अर्थमन्त्री फेरिने चर्चाको प्रभाव सेयर बजारमा, कारोबार रकम २ अर्बमाथि

अर्थमन्त्री फेरिने चर्चाको प्रभाव सेयर बजारमा, कारोबार रकम २ अर्बमाथि


बैकिङ्ग समाचार । 
सोमबार सेयर बजारमा कारोबार रकम बढेर २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अर्थमन्त्री फेरिने चर्चाका कारण बजारमा लगानी बढेको सरोकारवालाले बताएका छन् ।  

एक ब्रोकरले भने, ‘अर्थमन्त्री खतिवडाको अवधि भदौमा सकिने भएकाले त्यसपछि एक–दुई सय बढ्छ र त्यो नाफा बुक गर्ने सोचमा लगानीकर्ता देखिएका छन् ।’ अर्थमन्त्री डा. युवराज खतिवडाको यही २० भदौमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । सोही कारण उनको मन्त्री पदसमेत सकिने भएपछि बजारमा लगानीकर्ताले यसको लाभ लिन लागेका हुन् ।

 बजारबारे गरिएको टिप्पणीका कारण नकारात्मक छवि बनेको खतिवडाको बहिर्गमनले केही समय बजार बढ्ने अनुमान लगानीकर्ताले गरेका छन् । 

बजार निरन्तर वृद्धि हुने अन्य बलिया आधारहरू भने देखिएको छैन । यद्यपि, संस्थाहरूले प्रस्ताव गर्ने लाभांश प्राप्त गर्ने समय भइरहेकाले पनि बजार वृद्धिलाई सहयोग पुगिरहेको छ । ब्याज बजार न्यून हुनु र कोभिड–१९ महाव्याधिका कारण अनिश्चितताको वातावरण बन्दा लगानी क्षेत्रको अभावले समेत सेयर कारोबारलाई बढाइरहेको छ । 

कम आपूर्ति रहेका बिमालगायतका कम्पनीमा पनि लगानीकर्ताले लगानी बढाइरहेका छन् । निर्जीवन बिमा, वाणिज्य बैंक समूहमा अधिक कारोबार भएको छ । यी समूहमा क्रमशः ५६ करोड र ५२ करोड रुपैयाँको कारोबार भएको हो । 

सोमबार नेप्से परिसूचक पनि २१ अंकले बढेर १ हजार ४ सय ३१ अंकमा आइपुगेको छ । रेखाचित्र विश्लेषणका आधारमा नेप्सेले पाइरहेको १ हजार ४ सय बिन्दुको अवरोध पार गरेको छ । यद्यपि, १४३६, १४६६ लगायतका तहमा स–साना प्रतिरोध देखिन्छ  ।  

कारोबारमा आएका होटेलबाहेक सबै समूहगत परिसूचक बढेको छ । लघुवित्त, उत्पादनमूलक समूहगत परिसूचक सबैभन्दा धेरैले बढेको छ । यी समूह क्रमशः २ दशमलव ३४ र २ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । 

बजारमा मोलमोलाइसमेत तीव्र भएको छ । मूल्य बढ्ने १ सय ४९ कम्पनीहरूमध्ये ८७ वटाको मूल्य २ प्रतिशतभन्दा कमले वृद्धि भएको छ । १८ कम्पनीको मूल्य घटेको छ भने १५ वटा कम्पनीको मूल्य स्थिर छ । लगानीकर्ताले यस्तो अवधिमा कम मूल्यका सेयरलाई प्राथमिकता दिन थालेका छन् ।

नयाँ पत्रिका दैनिकमा  समाचार छ ।