काठमाडौं – बैंकिङ्ग कसुरका विरुद्धमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित थप २ जना उच्च तहका बहालवाला कर्मचारी पक्राउ परेपछि बैंकिङ्ग क्षेत्र तरंगित बनेको छ । लामो समयदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा थन्किएर बसेको फाइल खोल्दै उनीहरुलाई पक्राउ गरेपछि समग्र बैंकिङ्ग क्षेत्र नै तरंगित बनेको हो ।
सीईओ शेरचनसँगै डेपुटी सीईओ मनिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवाज श्रेष्ठ सीआईबीको फन्दामा परेका छन् । उनीहरु पदमा रहँदाको अवस्थामा नै केन्द्रीय कार्यालयबाटै पक्राउ परेपछि समग्र क्षेत्र तरंगित बनेको हो । विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको कसुरमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
खासगरी, सीईओ शेरचनले आफन्त सञ्चालक रहेको जानकी मेडिकल कलेजका नाममा २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा अघिल्लो वर्ष नै सीआईबीमा उजुरी परेको थियो । तर, यसमाथि अहिलेसम्म कुनैपनि कानूनी प्रक्रिया अघि नबढेपनि यतिबेला भने सीआईबीले फाइल खोलेको हो । यसअघि शेरचनविरुद्ध परेको उजुरीको फाइल प्रहरीले गुपचुप थन्क्याएको थियो ।
शेरचनले २०७१ साल तिरै ऋण अपचलन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । बैंकले सो समयमा जानकी मेडिकल कलेजका नाममा डेढ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जबकी, बैंकलाई सो कर्जावापतको सावा ब्याज भने एक रुपैयाँ पनि नआएको देखिन्छ । राम जानकी हेल्थ फाउन्डेशनले सञ्चालन गरेको जानकी मेडिकल कलेजका सञ्चालक हरिकृष्ण भट्टचन नातामा शेचरनको ससुरा पर्ने देखाउँछ ।
जबकी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले बैंकका सीईओ एवं बैंकका सञ्चालकहरुले नातेदारलाई कर्जा प्रवाह गरेमा बैंकिङ्ग कसुर मानिनेछ । तरपनि खुलमखुल्ला सीईओ शेरचनले आफन्त मूख्य सञ्चालक रहेको जानकी मेडिकल कलेजलाई डेढ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेर बैंकिङ्ग कसुर गरिसकेका थिए । तर, पनि सत्ता र शक्तिको आडमा कानूनी दायरालाई प्रभावित बनाइरहेका थिए ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले उनीहरुलाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्र्तगत उच्च अदालत पाटनको आदेशमा पक्राउ जानकारी दिए । उनका अनुसार प्रतिवादी कुसुम लामाले अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको क्रममा संकलन भएका विवरण तथा तथ्यहरुको अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका सीईओले राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको पाइएको छ ।
यसैगरी, ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा समेत उनीहरु पक्राउ परेको सीआईबी प्रमुख मनोजकुमार केसीले बताए । ‘ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरका आधारमा पनि पक्राउ गरिएको हो,’ उनले बैंकिङ्ग समाचारसँग भने । उनीहरुलाई पक्राउ गरेर बैंकिङ्ग कसुरको मुद्धासँगै ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा समेत अनुसन्धान अघि बढेको छ ।
प्रभु म्यानेजमेन्ट प्रालिको ठगी घटनामा अनुसन्धान गर्न सीआईबीको टोलीले प्रभु बैंकमा छापा मारेको थियो । प्रभु बैंकको केन्द्रीय कार्यालयमा मारेको छापाबाट सीआईबीले कागजात अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । विगतदेखि नै सीआईबीमा प्रभु बैंकविरुद्ध विभिन्न नामका उजुरीको चाङ थियो । उता प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन भने सरकारी वकिल कार्यालयको आदेशमा पक्राउ परेको १५ दिनमै थुनामुक्त भएका थिए ।
प्रभु बैंकका उच्च ओहोदाका कर्मचारीहरु पक्राउ परेपछि बैंकिङ्ग क्षेत्रमा एक किसिमको तंरग सिर्जना भएको छ । कार्यालयबाटै बैंकका बाहालवाला ३ जना कर्मचारी पक्राउ परेपछि बैंकिङ्ग क्षेत्रका विज्ञहरुले सहि गलत छुट्याएर मात्रै पक्राउ गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्र निकै संवेदनशिल क्षेत्र भएको भन्दै बैंकरहरुलाई पक्राउ गर्नुअघि सहि गलत छुट्याएर मात्रै पक्राउ गर्नुपर्ने बताए ।
‘बैंकिङ्ग क्षेत्रमा कुनै एक कम्पनीको सीईओले अर्बौ निक्षेपको पक्षमा काम गरिरहेको हुन्छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘पहिला समातेर पछि छाड्नुपर्ने अवस्था आयो भने नकारात्मक सन्देश जान्छ । त्यसैले, पहिला घटना बुझेर मात्रै कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ ।’ यस्तै, प्रभु बैंकका सूचना अधिकारी रबिन्द्र ढकालले आफू विदामा रहेकाले यसबारे केही जानकारी नरहेको बैंकिङ्ग समाचारलाई बताए ।
यता नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले सीआईबीमा परेको उजुरीका आधारमा पक्राउ परेको बताए । यसमा नेपाल राष्ट्र बैंकले प्रहरीले मागेबमोजिमको सहकार्य गरिरहेको बताउँदै भने, ‘सीआईबीले नेपाल राष्ट्र बैंकसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ । यद्यपी, यो सीआईबीमा परेको उजुरीका आधारमा भएको घटना हो ।’ शेरचन पक्राउ परेपनि उनको पद भने गुमेको छैन ।
तर, अदालतमा सीआईबीले मुद्धा दायर गरेको खण्डमा स्वत निलम्बनमा हुनेछन् । शेरचन पक्राउ परेपछि यतिबेला बैंकिङ्ग क्षेत्रमा हल्लाखल्ला मचिएको छ । यद्यपी, गलत काम गरेको भए अनुसन्धानमा तानिनुपर्नेमा सबैजसो सहमत देखिन्छन् । तर्साउन र धम्क्याउनका लागि मात्रै पक्राउ गर्ने र छाड्नेभन्दा पनि सही सूचनाका आधारमा पक्राउ गरेमा खास आपत्ति नहुने उनीहरको तर्क छ । किनकी, देशको कानून सबैजसोलाइ लाग्ने भएकाले गलत गरेको भएमा शेरचन समेत कानूनी दायरामा आउनुपर्ने उनीहरुको तर्क छ ।






About Us
प्रतिक्रिया