काठमाडौं – एक दशकको अवधिमा अमेरिकी डलरसँग नेपाली मुद्रा तीव्र गतिमा अवमूल्यन भएको छ । सन् २०१५ देखि सन् २०२५ सम्म आइपुग्दा डलरसँग नेपाली मुद्रा ३७.६१ अमेरिकी डलर बढेको हो । जुन, यस अवधिमा आएको ३६ प्रतिशतको वृद्धि हो ।
सन् २०१५ को नोभेम्बर १ मा १०४.१२ रहेको अमेरिकी डलर सन् २०२५ सम्म आइपुग्दा बढेर अहिलेसम्मको अवधिमा १४२ पुगेको हो । नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा अमेरिकी डलरको भाउ बढ्दै गएको हो ।
तर, डलरसँग नेपाली मुद्रा कमजोर बन्नुमा नेपालकोभन्दा धेरै भारतीय रुपैयाँ (भारु)को कारण छ । नेपाली रुपैयाँ र भारु आपसमा ‘पेग’ छन् । जसकारण, भारतको मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ समेत स्वतः कमजोर बनेको हो ।
डलरको भाउ बढ्दा अर्थतन्त्र प्रभावित
नेपालको अर्थतन्त्रमा डलरको भाउ बढ्दा बढी बेफाइदा रहेको अर्थविद्हरु बताउँछन् । डलरको भाउ बढ्दा वैदेशिक रोजगारीमा रहेकाहरूले पठाउने रेमिट्यान्स आयात बढ्छ । डलरको भाउ बढ्दा पैसा पठाउनेले राम्रो मूल्य पाउँछन् । डलरको भाउ बढ्दा नेपाल भित्रिने रेमिट्यान्स बढे पनि आयातमुखी अर्थतन्त्रका कारण डलरको भाउ बढ्दा नेपाललाई घाटा पर्ने उनीहरूको बुझाई छ ।
अर्थविद् डा. गोविन्द नेपाल अमेरिकी डलरको भाउ बढ्दा नेपालको आयातमुखी अर्थतन्त्रमा आयात गरिने वस्तु तथा सेवाको मूल्य बढी पर्ने बताउँछन् । आयातित वस्तुमा बढी रकम आवश्यक पर्ने उनको भनाई छ । यता, रेमिट्यान्स पठाउनेहरूलाई भने फाइदा हुने उनी बताउँछन् ।
नेपालले हरेका सामान अन्य देशहरूबाट आयात गर्ने गर्दछ । जसको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्दा सामान महँगो पर्न जान्छ । डलरको भाउ बढ्दा आयात गरिएको समानको पनि भाउ बढ्दा मूल्य वृद्धि पनि बढ्छ । यता, डलर महँगिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम नपुग्दा पुँजीगत खर्च नै धान्न मुस्किल पर्ने मुलुकलाई समस्या सिर्जना हुन पुग्छ ।
आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा पढ्न जाने प्रचलन सुरु भएको छ । विदेश पढ्न जानेहरूले कलेजको शुल्क, बसाइँको शुल्क पनि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ । जसले नेपाल आएका डलरहरू पनि बाहिरिन्छन् भने डलर बढेको समयमा बढी शुल्क भुक्तानी गर्नुपर्दा आर्थिक बोझ थपिन्छ जसको प्रभाव समग्रमा नेपाली अर्थतन्त्र पर्छ ।
किन बढ्यो डलरको भाउ ?
विश्व अर्थतन्त्रमा देखिएको उत्तर चढाव र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिले अमेरिकी मुद्रा मूल्य पनि बढेको पाइन्छ । ट्रम्पले घोषणा गरेको कडा व्यापार नीति, चीनमाथि थप भन्सार शुल्क, मेक्सिको र क्यानडामाथिको सम्भावित ट्यारिफ तथा अमेरिकी अर्थतन्त्रलाई थप बलियो बनाउने नीतिले विश्व बजारमा डलरप्रति विश्वास बढ्दापनि डलरको भाउ बढेको अर्थशास्त्रीहरु बताउँछन् ।

यता, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ पनि कमजोर बन्दै गएको छ । भारतसँगको स्थिर विनिमय दर प्रणालीका कारण नेपाली रुपैयाँ पनि अप्रत्यक्ष रूपमा कमजोर बन्न पुगेको छ । डलरबाट कारोबार गर्दा भविष्यमा आइपर्ने जोखिम पनि कम हुने हुँदा डलरको भाउ बढी हुने गरेको पाइन्छ । विप्रेषण, आयात र पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएको डलरको मूल्य वृद्धिले उपभोक्ता भने चेपुवामा पर्ने गरेका छन् ।
अर्थविद् डिल्लीराज खनाल विदेशी मुद्रा सञ्चिति बढी हुँदा पनि डलरको भाउ घट्न नसक्नु अर्थतन्त्रको नीति विपरीत रहेको बताउँछन् । उनले नेपालको आयात हुने वस्तुमा पनि बढी डलरमा भुक्तानी हुने हुँदा पनि बढ्ने बताए । डलरको सट्टा नेपालले अर्को मुद्रा प्रयोग नगर्दा पनि डलरको भाउ बढेको उनी बताउँछन् ।






About Us
प्रतिक्रिया