बैकिङ्ग समाचार ।
राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि काउन्टर खोल्न निर्देशन दिएको छ।
शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै रेमिटेन्स काउन्टर खोल्न निर्देशन दिएको हो। कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यका लगायत मुलुकका सबैजसो स्थानमा गरिएको निषेधाज्ञाले रेमिटेन्स भुक्तानी पनि प्रभावित भएको छ।
विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्न सक्ने देखिएको भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न भनेको छ। काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गर्न पनि भनिएको छ।
राष्ट्र बैंकले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्युनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउन भनेको छ।
बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
यसैगरी आफू अन्तर्गतका निकायहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी भिडभाड नगर्न निर्देशन दिन भनिएको छ।



About Us
प्रतिक्रिया