काठमाडौं – नेपालमा राष्ट्र बैंकले अवैध घोषणा गरिसकेको क्रिप्टोकरेन्सी कारोबार पछिल्लो समय भित्रभित्रै फैलिँदै गएको पाइएको छ। राष्ट्र बैंकले पटक–पटक क्रिप्टोकरेन्सीको कारोबार गैर कानुनी भएको स्पष्ट गर्दै सचेत गराउँदै आएको भएपनि यसमा संलग्न हुनेहरूको संख्या दिनानुदिन बढिरहेको हालका अनुसन्धानहरूले देखाएका छन्।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७७/७८ मा क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी एउटा मात्र मुद्दा परेको थियो। यो काठमाडौंमा भएको थियो। यो घटनामा बिटक्वाइन प्रयोग भएको खुलेको थियो। नेपालमा क्रिप्टोकरेन्सी सन् २०१३ तिर प्रवेश गरेको प्रमाण भेटिन्छ।
विशेष गरी २०७२ सालको भूकम्पपछि राहतको निहुँमा यस्ता कारोबार झन् फैलिएको प्रहरीको अनुमान छ। २०७४ मा नेपाल राष्ट्र बैंकले पहिलो पटक क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गरेको थियो। त्यसपछि २०७४ असोज २० गते केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न स्थानमा बिटक्वाइन कारोबार गरेको आरोपमा सात जनालाई पक्राउ गरेको थियो।
त्यसबेला पक्राउ पर्नेहरूमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्त प्रताप शाह, नुवाकोटकी विदा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौंका दमन बस्नेत र रुपन्देहीका मनिषकुमार गिरी थिए। उनीहरूले करिब ४ करोड रुपैयाँ बराबरको कारोबार गरेको पाइयो। सो घटना भएको तीन हप्तापछि प्रहरीले पुनः दुई जना क्रिप्टो कारोबारीलाई नियन्त्रणमा लियो। उनीहरूले अनलाइन प्रविधि र सफ्टवेयर विकासको बहानामा ‘बिटसेवा प्रालि’ नामक कम्पनी दर्ता गरेका थिए, जुन नेपालमा क्रिप्टो कारोबार गर्ने पहिलो कम्पनी भए पनि पछि बन्द भएको थियो।
२०७५ मा सीआइबीले फेरि एक जनालाई अवैध बिटक्वाइन कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गर्याे। २०७८ मा भारतको हैदराबादमा तीन जना नेपालीलाई ८६ लाख रुपैयाँ ठगी गरी क्रिप्टोमार्फत चीनमा पैसा पठाएको आरोपमा पक्राउ गरिएको थियो। २०७९ मा टेकुबाट तीन जना पक्राउ परे। उनीहरूसँग ९७५ जना कर्मचारी संलग्न भएको तथ्य खुलेको थियो र उनीहरूले १,९२६ पटक क्रिप्टो कारोबार गरेको पाइएको थियो। त्यसै वर्ष चन्द्रमणि अधिकारी रानीपोखरीबाट पक्राउ परे।
प्रहरी तथ्यांकअनुसार, आर्थिक वर्ष ०७७/७८ मा १ वटा, ०७८/७९ मा २ वटा र ०७९/८० मा ३ वटा क्रिप्टो कारोबारसम्बन्धी उजुरी दर्ता भएका थिए। ०७९/८० मा संलग्न ४ जनामध्ये ३ जनाले प्रत्यक्ष क्रिप्टो कारोबार गरेका थिए भने एक जनाले ‘बाइनान्स’ एपमार्फत कारोबार गरेको पाइएको थियो। सो अवधिमा ६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको तथ्य बाहिर आएको छ।
त्यस्तै, आव ०८०/८१ मा ३ वटा उजुरी दर्ता भई ५ जना पक्राउ परे। गत आव ०८१/८२ मा मात्र ८ वटा उजुरी दर्ता भइसकेका छन् र ९ जना विदेशी तथा ९ जना नेपालीलाई पक्राउ गरिएको छ। यही वर्ष असार १८ गते सीआइबीले ५२ जनालाई पक्राउ गरेको थियो, जसमा ६ जना चिनियाँ नागरिक थिए।
असार २३ गते फेरि १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गर्ने दुई भारतीय पक्राउ परे। यसबाट नेपाल विदेशी नागरिकहरूले समेत क्रिप्टो कारोबारको केन्द्रका रूपमा प्रयोग गरिरहेको बुझिन्छ। सरकारले अवैध भने पनि पछिल्लो समयमा अर्बौँको कारोबार भइरहेको घटनाले यो नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको देखिन्छ। प्रहरीका अनुसार क्रिप्टो कारोबारमा विभिन्न उच्च पदस्थ व्यक्तिहरूसमेत संलग्न रहेको तथ्य उजागर भइरहेको छ।
विश्वका धेरै देशमा क्रिप्टोकरेन्सीलाई वैधता दिइसकिएको छ, केहीले त राष्ट्रिय मुद्राकै मान्यता दिएका छन्। तर, नेपालमा भने यो पूर्णरुपमा प्रतिबन्धित छ। विज्ञहरूका अनुसार क्रिप्टोकरेन्सीलाई केन्द्रीय बैंक वा सरकारले नभई निजी क्षेत्रले प्रवर्द्धन गर्ने भएकाले यसमा उच्च जोखिम रहन्छ र विशेष गरी जानकारीको कमी भएकाहरू सजिलै ठगीमा फस्छन्। यसको असर नेपालमा पनि देखिएको छ। नेपाल राष्ट्र बैंकले सन् २०१९ र २०२१ मा छुट्टाछुट्टै निर्देशन जारी गरी क्रिप्टो कारोबार अवैध रहेको पुनः स्पष्ट पारेको थियो। तर, सचेतनाका बाबजुद पनि कारोबार झन् बढ्दै गएको प्रहरीमा पर्ने उजुरीहरूले देखाएका छन्।
नेपाल प्रहरीका डिआइजी विनोद घिमिरेका अनुसार, क्रिप्टोकरेन्सी विदेशी विनिमय नियमन ऐन २०१९ अन्तर्गत गैरकानुनी ठहर गरिएको हो। यसले ठगी बढाउने, पुँजी पलायन गराउने र अर्थतन्त्रमा अस्थिरता ल्याउने भएकाले प्रतिबन्धित गरिएको हो। उनका भनाइमा, क्रिप्टो कर चुहावट र आपराधिक गतिविधि बढाउने माध्यमका रूपमा प्रयोग हुँदै आएको छ। प्रहरी वरिष्ठ उपरीक्षक युवराज खड्काले धेरै पैसा छिट्टै कमाउने लालच र कारोबार लुकाउन सकिने सहजताले गर्दा पछिल्ला दिनमा क्रिप्टोमा संलग्न हुनेहरू बढेको बताए।





About Us
प्रतिक्रिया