लम्पी स्किन महामारीको त्रासः सरकारको १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुने प्रोजेक्सन

लम्पी स्किन महामारीको त्रासः सरकारको १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुने प्रोजेक्सन


नमुना के.सी, काठमाडौं । 
पशुमा दुखिएको लम्पी स्किन रोगबाट हालसम्म ५२ अर्ब आर्थिक नोक्सानी भएको नेपाल चिकित्सा परिषद्को तथ्यांकले देखाएको छ । परिषद्ले गरेको अध्यायन अनुसार रोग लागेको ११ लाख पशुबाट उक्त नोक्सानी देखिएको हो । 
\"\"
अवस्था नियन्त्रणमा नआउने हो भने २५ लाख संक्रमित र १ लाख पशुको मृत्यु र १ खर्ब २६ अर्ब रुपैयाँको आर्थिक क्षति हुनसक्ने उक्त सरकारी निकायले प्रोजेक्सन गरेको छ ।  

तिब्र गतिमा फैलिरहेको गाई-भैँसीमा  लाग्ने लम्पी स्किन रोगका कारण करिब ६० प्रतिशत नेपाली आबद्ध कृषि क्षेत्र यतिबेला तनाव झेलिरहेको किसानहरु बताउँछन । 

नेपाल पशु चिकित्सा परिषद्का पशु विज्ञ तथा प्रवक्ता मनोज शाहीका अनुसार ७७ जिल्लामै लम्पी स्किन पुष्टि हुँदा एक पशु बराबर ५९ हजार १३५ रुपैयाँ नोक्सानी भैसकेको छ । उनले भने ‘यस हिसाबले पनि लम्पी स्किन रोगका कारण हालसम्म ५२ अर्ब बराबरको आर्थिक क्षति भईसकेको छ ।’ पशुमा खोप भ्याक्सिन तथा अन्य उपचार पुगेन र समयमा रोग नियन्त्रण नहुने हो भने  मुलुकले ठुलो आर्थिक नोक्सानी खेप्नुपर्ने बताउँदै उनले भने, ‘ हाम्रो प्रोजेक्सनमा यस रोगका कारण करिब २५ लाख पशु संक्रमित हुने र १ लाख पशुको ज्यान जाँदा करिब १ खर्ब २६ अर्ब बराबरको नोक्सानी हुनसक्छ ।’ 
\"\"
यद्यपी यस रोगको मध्यकालीन र दिर्घकालीन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा परामर्शका लागि पेस गरिसकेको पनि उनले बताए । लामखुट्टे, टोक्ने झिँगा , भुसुना र किर्ना जस्ता किराको टोकाईबाट यो रोग सर्ने हुँदा पछिल्लो समय गाईमा अझै बढि संक्रमण देखिएको शाहीले बताए । उनले भने, ‘खासगरी पशु किनबेच ढुवानी साधन र सरसफाइको कमी हुँदा यो रोग फैलिने गर्दछ । लम्पी स्किन रोग वस्तुभाउमा देखिँदा छालामा साह्रो गिर्खा देखिने, उच्च ज्वरो आउने गर्दछ । शाहीका अनुसार रोगको लक्षण देखिएका पशुलाई गरिने प्राथमिक उपचार निम्नानुसार छन । 

–  रोग देखिने बित्तिकै सरसफाइमा ध्यान दिने,
–  ज्वरो घटाउनका लागि पारासिटामोल वा मेलक्सिकेम प्रयोग गर्ने ,
–     रोग देखिनासाथ बथानबाट छुट्टयाएर अलग्गै राख्ने,
–   यस रोगको ठोस उपचार नभएको हुँदा प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्ने,
–   ओसारप्रसारमा नियन्त्रण गर्ने,
\"\"
तनावमा बीमा कम्पनी 

गरिबिको रेखामुनी रहेका १७ प्रतिशत जनताको जीविकोपार्जनको प्रमुख आधार पशुपालन रहेकोले उक्त परिवारको आर्थिक पाटोमा यस रोगका कारण गम्भीर चोट पुग्ने बताइएको छ । यद्यपी ग्रामीण भेगमा बीमाको पहुँच नपुगिसकेको अवस्था र नपुग्ने हुँदा उनीहरुको आर्थिक क्षती बीमामार्फत भुक्तान हुन नसक्ने बीमा प्राधिकरणका निर्देशक शुसिलदेव सुवेदी बताउँछन । उनी भन्छन, ‘धेरैजसो फर्महरुले पशुबीमा गराएका छन ।

किसानहरुको हकमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्नुपर्छ । बीमा कम्पनीहरुले ग्रामीण क्षेत्रमा किसानहरुलाई  बीमा गर्न प्रोत्साहन गर्नुपर्छ ताकि आगामी दिनमा किसानहरुलाई जोखिम बहनमा सहायता प्राप्त होस ।’ यता लम्पी स्किन रोगका कारण निर्जीवन बीमा कम्पनीहरु तनावमा देखिएका छन । यस रोगका कारण बीमा कम्पनीलाई चुनौती थपिएको कुरामा सहमत जनाउँदै एनएलजी इन्स्योरेन्स कम्पनीमा कृषि तथा पशु विभागका प्रमुख सबेरा कार्कीले सयको हाराहारिमा लम्पी स्किन रोगको दाबी आइसकेको बताइन ।
\"\"
उनले भनिन ‘पशु मरेको तीन दिन भित्र कम्पनीलाई जानकारी गराई सबै कागजपत्र बुझाइसकेपछि दाबी पाउने व्यवस्था छ । बीमा कम्पनीमा बीमा प्रस्ताव आउँदा भ्याक्सिन लगाएको छ कि छैन, भ्याक्सिन लगाएको कति दिन भयो हेरेर बीमा गरिन्छ ।’ पशु बीमा गर्नु पर्छ भन्ने जनचेतना आम मानिसमा पुगिसकेको बताउँदै पशुबीमा गरेका किसानहरुलाई बीमा भुक्तानी गर्न बीमा कम्पनीहरु सक्षम रहेको उनले बताइन । यस्तै नेको इन्स्योरेन्सका कृषि तथा पशु विभाग प्रमुख विष्णु प्रसाद धितालका अनुसार जोखिम बढेपछि क्षतिपूर्ति दिनुपर्ने हुँदा बीमा कम्पनीहरुलाई चुनौती बढ्नु स्वभाविक रहेको बताए । उनले भने, ‘बीमा प्राधिकरणबाट कुनै निर्देशन आएको छैन र सरकारबाट पनि महामारी पृष्टि नभएको अवस्था भएपनि बीमा कम्पनीहरुले यसलाई चुनौतिको रुपमा नभई कर्तव्यकै रुपमा लिएर दाबी भुत्तानी गरिरहेको छ ।’