काठमाडौं – गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच ‘साझा जिम्मेवारी समान प्रतिबद्धता– प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ दुई दिवसीय ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका हुन् ।
समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी सङ्गठनमा आबद्ध भई सङ्गठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रथम महिला प्रहरी चैतमाया डङ्गोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायव निरीक्षक जुनी राईलाई सम्मान पत्र प्रदान गरे । सो अवसरमा उनले सम्मेलन विशेषाङ्कको विमोचन गर्नुका साथै सम्मेलनको ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गरे ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यस सम्मेलनको शुभारम्भले लामो इतिहास बोकेको नेपाल प्रहरी सङ्गठनको लागि आजको दिन ऐतिहासिक तथा उपलब्धिमूलक बनेको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गरे । साथै समारोहमा सम्मानित हुने व्यक्तित्वहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्ता प्रदर्शित भूमिकाहरूले सङ्गठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको लागि प्रेरणा, उत्साह एवम् मार्ग निर्देशन समेत प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।
गृहमन्त्री लेखकले समाजले महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै आजका दिनमा महिला दिदी बहिनीहरूले गरेका साहसिक तथा प्रेरणादायी कार्यहरूले अन्धविश्वास तथा परम्परालाई तोड्दै महिला पनि पुरुष भन्दा अगाडि छन् भन्ने कुरा स्थापित गर्न सफल भएको उल्लेख गरे । सुरक्षित समाज निर्माणमा महिलाहरूको भूमिका विशिष्ट हुने चर्चा गर्दै नेपाल प्रहरीमा पनि महिला प्रहरी कर्मचारीहरूले प्राप्त गरेका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको बताए । समानता, सशक्तीकरण एवम् सम्भावनाका विषयहरूमा महिला प्रहरी कर्मचारीहरूलाई विशेष ढङ्गले प्रोत्साहित गर्ने तथा अवसरहरू प्रदान गर्ने कुरामा विशेष ध्यान दिई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री लेखकले समाजमा यौनजन्य घटनाहरू अत्यन्तै तीव्र रूपमा बढी राखेको तथा लागूऔषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध चुनौतीका रूपमा देखा पर्नुका साथै यस्ता अपराधहरूबाट सबै भन्दा बढी महिला तथा बालबालिका पीडित हुने बताउँदै यस्ता अपराधहरूको न्यूनीकरण तथा नियन्त्रणमा महिला प्रहरीको उपस्थिति अझ बढी प्रभावकारी हुने बताए । देश भरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकका विरुद्ध हुने अपराध जन्य घटनाहरूको सम्बोधनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूलाई थप क्रियाशील गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकका सुरक्षाका निम्ति थप संवेदनशील भएर काम गर्नुपर्ने उनले बताए।
गृहमन्त्री लेखकले गत आर्थिक वर्षमा गृह मन्त्रालयको समग्र कार्यसम्पादनमा प्राप्त उपलब्धिमा नेपाल प्रहरीले निर्वाह गरेका कार्यहरू महत्त्वपूर्ण रहेको चर्चा गर्दै यस आर्थिक वर्षमा पनि गत आर्थिक वर्षको जस्तै उपलब्धिहरू प्राप्त गर्न थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकका प्रति अत्यन्तै विनम्र भएर तथा अपराधी प्रति अत्यन्तै निर्मम भएर जिम्मेवारी वहन गर्न कटिबद्ध हुनुपर्ने बताए ।
समारोहमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत British Embassy, Kathmandu Acting Deputy Head of Mission, Ms. Camilla Sugden ले सम्मेलनको महत्त्व र औचित्यबारे चर्चा गर्दै आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानता र लैङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने उद्देश्य राखी नेपाल प्रहरीले शुभारम्भ गरेको यस सम्मेलन ऐतिहासिक रहेको उल्लेख गरे । नेपाल प्रहरीमा आबद्ध पूर्व महिला प्रहरी कर्मचारीहरूले गरेको योगदान अतुलनीय रहेको चर्चा गर्दै सङ्गठनमा महिला प्रहरी कर्मचारीहरूको सहभागिता बढ्दै गइरहेको वर्तमान अवस्थामा यस सम्मेलनले अवकाश प्राप्त महिला प्रहरी कर्मचारीहरूको अनुभवको आदान प्रदानका साथै आगामी दिनमा महिला प्रहरी कर्मचारीहरूलाई आवश्यक मार्ग निर्देशन गर्न कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा महिला प्रहरीको उपस्थितिलाई केवल सङ्ख्या र तथ्याङ्कमा मात्र प्रस्तुत गर्ने भन्दा पनि महिला प्रहरीको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागितालाई विशेष जोड दिइएको बताउँदै महिला प्रहरीको सशक्तीकरणमा केन्द्रित यस ऐतिहासिक सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक हुने विश्वास व्यक्त गरे । समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा महिला प्रहरीको इतिहास र नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ सम्बन्धी वृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो ।
समारोहमा गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रितहरूले उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो।लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।



About Us
प्रतिक्रिया