पहिरोले बुटवल–पाल्पा र तानसेन–रिडी सडकखण्ड अवरूद्ध


बुटवल – लगातारको वर्षापछि बिभिन्न ठाउँमा पहिरो झरेपछि बुटवल–पाल्पा तथा तानसेन–रिडी सडकखण्ड पूर्णरूपमा बन्द भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ सिद्धबाबा मन्दिरनजिकै पहिरो झरेपछि बुटवल–पाल्पा सडकखण्ड पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरो झरेपछि सोमबार रातिदेखि नै सवारी साधनहरू आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आइतबारदेखि परेको अविरल वर्षापछि सिद्धबाबा मन्दिरनजिक सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरूद्ध भएको हो ।

अहिले पनि लगातार पानी परिरहेको र ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो हटाएर सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ । सोही स्थानमा पहिरो झरेका कारण सोमबार पनि बिहान १० बजेदेखी अपराह्न ४ बजेसम्म सडक अवरुद्ध भएको थियो । मुख्य राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पोखरा लगायतका क्षेत्रमा जान हिँडेका सवारीसाधान र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

यस्तैगरी पाल्पाको रिब्दिकोट गाउँपालिका–३ स्थित माल्मुल क्षेत्रमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले तानसेन–रिडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै खसेको माटो, ढुंगा र रुखसहितको पहिरोले सडकका दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो । पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी पर्न नरोकिएकाले सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यस्तैगरी अविरल वर्षापछि झरेको पहिरोका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड पनि अवरूद्ध भएको छ। दाङ–सल्यान सडक खण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका –३ मा बिहान ५ बजेतिर झरेको पहिरोका कारण सडकखण्ड अवरूद्ध भएको हो । सडक खण्डमा झरेको पहिरो पन्छाउनका लागि जेसिबी पठाइसकिएको डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले जानकारी दिए ।