काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १६ बस्ने मकवानपुर मनहरी गाउँपालिका– ५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तार्केश्वर नगरपालिका– ४ बस्ने सल्यान कपुरकोट गाउँपालिका– ३ घर भएका ३२ वर्षीय टेक बहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका– ३ बस्ने तनहुँ व्यास नगरपालिका– ४ घर भएका ४५ वर्षीय बिमल आले रहेका छन् ।
पक्राउमध्ये अशोकले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ११ लाख ४० हजार रुपैयाँ, टेक बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार रुपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका– ३ बाट बुधवार तथा टेक बहादुरलाई टोखा नगरपालिका– ७ बाट र विमललाई काठमाडौं महानगरपालिका–२६ बाट मङ्गलवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया