वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ९३ लाख ३० हजार ठगी गर्ने पाँच जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी– ४ घर भई  काठमाडौं टोखा बस्ने ३५ वर्षीय साजन गुरुङ, रुपन्देहीको  तिलोतमा– १ घर भई ललितपुरको महालक्ष्मी बस्ने ३६ वर्षीय दिपक थापा,  दाङको घोराही घर भई  काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ४७ वर्षीय टेक बहादुर केसी, स्याङजाको वालिङ घर भई ललितपुरको  ललितपुर महानगरपलिका – २३ बस्ने ५० वर्षीय  भरत प्रसाद पाण्डे र  पर्वतको विहादी घर भई भक्तपुरको मध्यपुर थिमी बस्ने ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् ।  

पक्राउ परेकामध्ये गुरुङले जर्मन पठाइदिन्छु भन्दै १ जनासँग १२ लाख ८० हजार,  थापाले ३ जनालाई जर्जिया पठाइदिन्छु भन्दै ६ लाख , केसीले ग्रिस पठाइदिन्छु भन्दै ६ जनासँग २१ लाख, पाण्डेले कोरिया पठाइदिन्छु भन्दै ३ जनासँग २० लाख र भुषालले कोरिया पठाइदिन्छु भन्दै ३३ लाख ५० पचास हजार ठगी गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै, अनुसन्धानका क्रममा पाण्डे जिल्ला प्रहरी कार्यालय कास्कीमा ५ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको छ। भने  भुषाल विरुद्ध प्रहरी वृत्त स्वयम्भूमा ६ लाख ५० हजारको बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा र प्रहरी वृत्त गौशालामा ३ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको खुल्न आएको छ । 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।